पोखरा दुण्डेफाँटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु,१२ जना घाइते

पोखरा दुण्डेफाँटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु,१२ जना घाइते

कास्की – पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जीप गएराति सडकबाट अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा पुर्‍याइएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका पर्वत घर भई हाल पोखरा महानगरपालिका–२४ पामे बस्दै आएका २३ वर्षीय मिलन गुरुङको उपचारका क्रममा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए । 

दुर्घटनामा घाँटीछिनाका १५ वर्षीय विवेक विक, चैनपुरका १६ वर्षीय विवस पराजुली र पोखरा–२३ का १४ वर्षीय अमित सुनार घाइते भएका छन् ।

घाँटीछिनाकै १८ वर्षीया अनिशा नेपाली, १२ वर्षीय उज्ज्वल सुनार, ११ वर्षीय निशान नेपाली, १४ वर्षीय सन्देश नेपाली, २० वर्षीय मुस्कान गुरुङ, १२ वर्षीय आसिस सुनार र १३ वर्षीय सन्जल सुनार घाइते भएका छन् । 

सोही ठाउँका १९ वर्षीया निसा नेपाली र २० वर्षीय दिपिन खत्री घाइते भएको प्रहरी निरीक्षक देवकोटाले जानकारी दिए । घाइतेहरुको अवस्था मध्यम रहेको र टाउको, हात, खुट्टालगायत शरीरका भागमा चोट रहेको बताइन्छ । 

 

खबरपाटी
खबरपाटी