काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले भाषा, संस्कृति, संस्कार र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ।
नेपाल सम्वत् ११४७ तथा तिहारलगायतका चाडपर्वको अवसरमा शनिबार साँझ काठमाडौंको डल्लु आवास क्षेत्रमा आयोजित विशाल मैनबत्ती र्यालीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो।
स्वर्णिम युवा समूहको अगुवाइमा १२ वटा स्थानीय क्लबको सहभागितामा आयोजित उक्त र्यालीलाई सम्बोधन गर्दै उहाँले नेपाल भाषा, नेवा संस्कृति र सम्पदा नेपालको मौलिक पहिचान तथा गौरव भएको उल्लेख गर्नुभयो।
उहाँले सांस्कृतिक सम्पदाको संरक्षण गर्नु विगतको विरासत जोगाउनु मात्र नभई भावी पुस्ताको पहिचान र सांस्कृतिक भविष्य सुरक्षित गर्ने महत्वपूर्ण अभियान भएको बताउनुभयो।
विगतका भाषिक आन्दोलन तथा सांस्कृतिक अभियानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति, परम्परा र संस्कारप्रति जागरुक बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
आफ्नो मौलिक पहिचानप्रति गर्व गर्ने र त्यसलाई व्यवहारमै जीवन्त राख्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले यस्ता सामुदायिक तथा सांस्कृतिक अभियानले सामाजिक एकता, सांस्कृतिक सद्भाव, पुस्तान्तरण र सांस्कृतिक जागरणलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा स्थानीय क्लब तथा युवाहरूको सहभागितामा निकालिएको मैनबत्ती र्यालीले नेवा संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा प्रवर्द्धनको सन्देश प्रवाह गरेको थियो।