काठमाडौं - युरोपका विभिन्न देशमा बिहीबार एक दर्जनभन्दा बढी विमानमा बम राखिएको धम्की आएपछि कैयौँ उडान आकस्मिक अवतरण गराइएको छ। केही विमानलाई सैन्य विमानले सुरक्षा दिँदै गन्तव्यसम्म पु¥याएका छन्।
यद्यपि, धम्कीपछि गरिएको सुरक्षा जाँचका क्रममा कुनैपनि विमानमा विस्फोटक वा शङ्कास्पद वस्तु फेला नपरेको अधिकारीहरूले बताएका छन्। बेलायतकी एक अधिकारीले यी घटनालाई ‘दुर्भावनापूर्ण झुटा धम्की’ भनेकी छन्। यसै साता पनि युरोपका विभिन्न विमानमा यस्तै धम्की आएपछि उडानको मार्ग परिवर्तन तथा सुरक्षा जाँच गरिएको थियो। एकै दिन यति धेरै विमानलाई लक्षित गरी धम्की आउनु असामान्य मानिएको छ।
युरोपेली देशहरूमा पछिल्लो समय सुपरमार्केटका रेफ्रिजरेसन प्रणालीमा आक्रमण, ड्रोनको अनधिकृत प्रवेश तथा आपत्कालीन सूचना प्रणालीमा शङ्कास्पद गतिविधिजस्ता घटना पनि भएका छन्। पछिल्ला घटनाक्रमले युरोपमा सुरक्षा चुनौती बढिरहेको बेला विमानहरूलाई लक्षित गरी धम्की आएको हो।
ब्रसेल्सस्थित ब्रुगेल थिङ्क ट्याङ्कका वरिष्ठ अनुसन्धानकर्ता ज्याकोब फङ्क किर्केगार्डले यस्ता धम्कीलाई युरोपेली सरकार र विमानस्थलका सुरक्षा निकायको प्रतिक्रिया परीक्षण गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्। उनकाअनुसार यसले हवाई यातायातको विश्वसनीयतामाथि अनिश्चितता सिर्जना गर्नुका साथै आर्थिक क्षति र उडान व्यवस्थापनमा व्यापक असर पार्नसक्छ।
बेलायतकी यातायातमन्त्री हेइडी अलेक्जेन्डरले युरोपभरिका उडानलाई लक्षित गरी ‘दुर्भावनापूर्ण झुटा धम्की’ आएको बताएकी छन्। युरोपेली सङ्घका यातायात आयुक्त अपोस्टोलोस त्जित्जिकोस्तासले भने यी घटनाहरू आपसमा सम्बन्धित छन् वा छैनन् भन्ने निष्कर्षमा पुग्न अहिले नै हतार गर्न नहुने बताएका छन्। घटनाबारे सम्बन्धित देशका निकायले अनुसन्धान गरिरहेको उनले जानकारी दिएका छन्।
फ्रान्समा विमान अवतरण, इटालीमा सैन्य विमानको सुरक्षा
आयरल्यान्डको डब्लिनबाट इटालीको रोम जाँदै गरेको एर लिङ्गसको विमानमा धम्की आएपछि फ्रान्सको एभ्रुस्थित सैन्य हवाई अड्डामा अवतरण गराइएको थियो। फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुको कार्यालयका अनुसार विमान सुरक्षित अवतरण गरेपछि बम निष्क्रिय पार्ने विशेषज्ञ टोलीले जाँच गरेको थियो।
विमानका पाइलटले अधिकारीहरूसँग अपेक्षाअनुसार समन्वय नगरेको भन्दै प्रधानमन्त्री लेकोर्नुले सैन्य विमान परिचालन गरी उक्त विमानलाई अवरोधसहित सैन्य अड्डासम्म पु¥याउन निर्देशन दिएका थिए। घटनाबारे फ्रान्सेली उड्डयन सुरक्षा निकायले अनुसन्धान थालेको छ। विमानका पाइलट र सहपाइलटसँग पनि सोधपुछ भइरहेको छ।
त्यस्तै, हेलसिन्कीबाट रोमका लागि उडेको फिनएयरको विमानलाई इटालीका वायुसेनाका लडाकु विमानले सुरक्षा दिएका थिए। फिनएयरका अनुसार उसका दुई उडानमा बम राखिएको भन्दै झुटा धम्की आएका थिए। तीमध्ये रोम पुगेको विमान सुरक्षित अवतरण गरेको थियो भने हेलसिन्कीबाट अस्ट्रियाको भियना गएको अर्को विमान पनि सुरक्षित अवतरण भएको थियो।
बुल्गेरियाका लागि उडेका ¥यानएयरका तीन विमानमा पनि बमको धम्की आएपछि सैन्य विमानले सुरक्षा दिएका थिए। कोपनहेगन र म्याड्रिडबाट आएका दुई विमान बुल्गेरियाको सोफिया विमानस्थलमा सुरक्षित अवतरण भएका थिए। लन्डनबाट आएको अर्को विमान भने प्लोभ्दिभ विमानस्थलमा अवतरण गरिएको थियो।
अन्य विमानस्थलमा पनि सुरक्षा जाँच
चेक गणतन्त्रको प्राग विमानस्थलमा बमको धम्की आएका चार विमानको जाँच गर्दा कुनै शङ्कास्पद वस्तु फेला परेन। पोल्यान्डको एलओटी एयरलाइन्सको वार्साबाट ब्रसेल्स गएको विमानमा पनि गन्तव्यमा अवतरणपछि गरिएको जाँचमा कुनै खतरनाक वस्तु भेटिएन।
त्यस्तै, इटालीको मिलानबाट रोमानियाको बुखारेस्ट गएको विज एयरको विमानमा धम्की आएपछि सुरक्षित अवतरण गराइएको थियो। जाँचका क्रममा बम नभेटिएको विमानस्थलका अधिकारीहरूले बताएका छन्।
सर्बियाको बेलग्रेडबाट बुखारेस्ट गएको एयर सर्बियाको विमानमा पनि यस्तै धम्की आएको थियो। सुरक्षा जाँचपछि विमानले नियमित उडान सेवा पुनः सुरु गरेको कम्पनीले जनाएको छ।
यसअघि पनि पोल्यान्डको एलओटी, स्क्यान्डिनेभियन एयरलाइन्स, विज एयर र ¥यानएयरका उडानलाई लक्षित गरी यस्तै धम्की आएका थिए। ती घटनामा पनि कुनै विस्फोटक पदार्थ फेला परेको थिएन।
विमान सुरक्षासम्बन्धी विज्ञहरूका अनुसार यस्ता धम्कीका कारण विमानको जाँच, उडान मार्ग परिवर्तन, चालकदलको समय व्यवस्थापन र यात्रुको कनेक्सन उडान छुट्नेजस्ता समस्या उत्पन्न हुन्छन्। एउटा उडान अवरुद्ध हुँदा एयरलाइन्सलाई दुई लाख ५० हजार अमेरिकी डलरसम्म खर्च लाग्न सक्ने उड्डयन सुरक्षा विज्ञ फिलिप बाउमले बताएका छन्।
यस साताका धम्की कसले दिएको हो, ती घटनाबीच कुनै सम्बन्ध छ वा छैन र त्यसको उद्देश्य के हो भन्नेबारे भने अझै खुल्न सकेको छैन।