अपहरणमा परेका सैनिकको उद्धार गर्न एल साल्भाडोरले हाइटीमा विशेष फौज पठायो

अपहरणमा परेका सैनिकको उद्धार गर्न एल साल्भाडोरले हाइटीमा विशेष फौज पठायो

मध्य अमेरिकी देश एल साल्भाडोरले हाइटीमा आफ्ना विशेष फौजका सैनिकहरू खटाएको छ । सशस्त्र समूहद्वारा अपहरण गरिएका चार जना सैन्य उड्डयन प्राविधिकको उद्धारका लागि उल साल्भाडोरले विशेष फौज पठाएको हो ।

सम्भावित खतरनाक भीडन्तको चेतावनीका बाबजुद राष्ट्रपति नायिब बुकेलेले जीत हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको ‘साउदी ग्याजेट’ ले जनाएको छ ।

सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै आएका सञ्चारमाध्यमका रिपोर्टअनुसार उद्धार कार्यमा सहयोग पुर्‍याउन साल्भाडोरका झन्डै २०० सैनिक हाइटीको राजधानी पोर्ट–अ–प्रिन्स पुगेका खबरमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घको समर्थन प्राप्त ’ग्याङ सप्रेसन फोर्स’ (जीएसएफ) का अनुसार पोर्ट–ओ–प्रिन्सबाहिरको ’प्लेन डु कुल–दे–साक’ क्षेत्रमा चलिरहेको खोज तथा सुरक्षा कारबाहीमा सघाउन एल साल्भाडोरको एक टुकडी आइपुगेको छ ।

साल्भाडोरका सैनिकहरूले हाइटीको राष्ट्रिय प्रहरी तथा अन्य सुरक्षा साझेदारहरूसँग मिलेर काम गरिरहेका जीएसएफले जनाएको छ । साथै जीएसएफले सान्तो र त्यस वरपरका समुदायका बासिन्दाहरूलाई सुरक्षा कारबाही चलिरहेका क्षेत्रहरूबाट टाढै रहन आग्रह गरेको छ ।

राजधानी नजिकैको क्रोइक्स–डेस–बुकेट्स कम्युनमा रहेको सान्तोमा सशस्त्र व्यक्तिहरूले बख्तरबन्द गाडीमा आक्रमण गरेपछि साल्भाडोरका चार जना सैन्य उड्डयन प्राविधिक बेपत्ता भएका थिए ।

आक्रमणपछि चार जना प्राविधिक जलिरहेको गाडीबाट बाहिर निस्कन सफल भए पनि त्यसयता उनीहरूका बारेमा कुनै खबर प्राप्त भएको छैन ।

खबरपाटी
खबरपाटी