स्पेन र उरुग्वे पहिलो जित निकाल्ने प्रयासमा

स्पेन र उरुग्वे पहिलो जित निकाल्ने प्रयासमा

काठमाडौं - विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच मा शीर्ष दुई स्थान बनाउने अपेक्षा गरिएका टिम स्पेन र उरुग्वे पहिलो जित निकाल्ने प्रयासमा हुने छन्। 

पहिलो खेलमा तुलनात्मक रूपमा कमजोर मानिएको नवप्रवेशी केप भर्डेसँगको गोलरहित बराबरीपछि उपाधि दाबेदार स्पेन आलोचित बनेको थियो। 

स्पेनले दोस्रो खेलमा साउदी अरेबियाविरुद्ध खेल्दै छ। यो खेल आज राति पौने १० बजे एटलान्टामा हुनेछ।  यो समूहमा साउदी अरबले आफ्नो पहिलो खेलमा बलियो मानिएको उरुग्वेसँग १–१ मा खेलेर आफूलाई कमजोर नठान्न चेतावनी दिइसकेको छ। 

साउदी अरबका प्रशिक्षक जोर्गेजस डोनिसल स्पेनविरुद्धको खेलमा उरुग्वेविरुद्ध उतारेको पहिलो रोजाइको टिममा हेरफेर गर्ने सम्भावना देखिँदैन तर स्पेनको पहिलो रोजाइमा भने फेरबदल हुने अनुमान गरिएको छ। 

लामिने यमाललाई सुरुदेखि नै खेलाउने सम्भावना धेरै छ। केप भर्डेविरुद्धको खेलमा १८ वर्षीय सुपरस्टार खेलाडी यमाल स्थानापन्न खेलाडीका रूपमा मैदान प्रवेश गरेपछि मात्र स्पेनको आक्रमण केही प्रभावशाली देखाएको थियो।

सन् २०१० को विजेता स्पेन पछिल्ला दुई विश्वकपमा अन्तिम १६ बाट बिदा भएको थियो। सन् २०१४ मा उपाधि रक्षा गर्ने क्रममा स्पेनको चुनौती समूह चरणमै सकिएको थियो। 

त्यसैले पहिलो खेलमा मात्र एक अङ्क बनाएको स्पेन साउदी अरबविरुद्ध खेल्दा केही दबाबमा हुने छ। 

यद्यपि युरोपेली च्याम्पियन स्पेन लयमा फर्किएमा साउदी अरबलाई खेल कठिन हुन पक्का छ। साउदी अरबले पछिल्लो संस्करणमा अर्जेन्टिनालाई २–१ ले हराएर विश्वकप इतिहासकै स्तब्धकारी नतिजा निकालेको थियो। सन् १९९४ मा अमेरिकामै विश्वकप हुँदा साउदी अरबले समूह चरण पनि पार गरेको थियो। 

यसअघि विश्वकपमा यी दुई टिमबिच सन् २००६ को समूह चरणमा भिडन्त भएको थियो। सो समय स्पेनले साउदी अरबलाई १–० ले हराएको थियो। यसै गरी स्पेनले साउदी अरबलाई दुई मैत्री खेलमा पनि पराजित गरेको छ। 

समूह एच मै केप भर्डेविरुद्ध खेल्दा उरुग्वेलाई पनि जितको दबाब रहने छ। केप भर्डेले पहिलो खेलमा स्पेनलाई गोलरहित बराबरीमा रोकेकाले उरुग्वे सतर्क छ। हालै बेन्फिकामा आबद्ध भएका केप भर्डेका सिडनी लोपेस काब्रालले स्पेनसँगको खेलले मनोबल धेरै उच्च भएकाले उरुग्वेविरुद्धको खेल जित्न सक्छौँ भन्ने विश्वास टिममा भएको बताए। 
यो खेल भोलि विहान पौने ४ बजे सुरु हुनेछ। 

यद्यपि रियल म्याड्रिडबाट खेल्ने उरुग्वेका प्लेमेकर फेडरिको भलभार्डे र टिममै अरकान्ओलागायत थुप्रै विश्वस्तरीय खेलाडीको बाहुल्य रहेको उरुग्वेविरुद्धको खेल जित्न केप भर्डेलाई कठिन नै हुने छ।

खबरपाटी
खबरपाटी