‘बजेट नपढी टिप्पणी भयो’ : अर्थमन्त्री वाग्लेको विपक्षी सांसदप्रति कटाक्ष

‘बजेट नपढी टिप्पणी भयो’ : अर्थमन्त्री वाग्लेको विपक्षी सांसदप्रति कटाक्ष

काठमाडौँ - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि आलोचना गर्ने विपक्षी सांसदहरूप्रति पुनः व्यंग्य गरेका छन्। प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सांसदहरूले बजेटको दस्तावेज अध्ययन नगरी टिप्पणी गरेको आरोप लगाए।

शुक्रवार संसद्मा रोस्ट्रमबाट सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले बजेटमाथिको बहस अझ तथ्यपरक र केन्द्रित हुन सक्ने बताउँदै सांसदहरूलाई बजेटको पूर्ण अध्ययन गर्न सुझाव दिए। उनले भने, “दस्तावेज पातलै छ, एकपटक हेरेर आउनुभएको भए छलफल अझ केन्द्रित हुन सक्थ्यो।”

बजेटमार्फत करका दरमा हेरफेर गरिएको भन्दै विपक्षी दलहरूले सरकारको आलोचना गरिरहेका बेला अर्थमन्त्रीले त्यसको प्रतिवाद गर्दै आलोचना तथ्यभन्दा बढी सुनेका भरमा आधारित रहेको संकेत गरे।

उनले बजेटको अवधारणा र नीतिगत पक्ष बुझ्न सैद्धान्तिक धरातलको आवश्यकता पर्ने उल्लेख गर्दै सांसदहरूको बुझाइप्रति समेत टिप्पणी गरे। “सैद्धान्तिक धरातलबारे अलि उन्नत बुझाइ भयो भने बजेटको दर्शन बुझ्न सकिन्छ कि जस्तो मलाई लाग्छ,” उनले भने।

अर्थमन्त्रीको उक्त अभिव्यक्तिपछि संसद्मा केहीबेर हल्का प्रतिक्रिया समेत देखिएको थियो। बजेटमाथिको बहस जारी रहेका बेला सरकार र विपक्षी दलबीच आरोप–प्रत्यारोपको क्रम पनि तीव्र बन्दै गएको छ।

खबरपाटी
खबरपाटी