अबको तीन दिन देशका तराई भेगमा अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन आग्रह

अबको तीन दिन देशका तराई भेगमा अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन आग्रह

काठमाण्डौ - जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहर (हीट वेभ) तथा अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन् । 

विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा योभन्दा बढी रहने सम्भावना छ । हिजो भैरहवाको तापक्रम ४१ डिग्री तापक्रम र नेपालगञ्जको ४० डिग्री सेल्सियस थियो । मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा तीन दिनसम्म मध्यम तातो लहर हुने विभागले जनाएको छ । 

विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी बर्दघाट सुस्तापश्चिम, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका नागरिकलाई तातो हावा चल्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ । त्यस्तै कञ्चनपुर, कैलाली, नवलपरासी बर्दघाट सुस्तापूर्व, चितवन, सुनसरी, मोरङ र झापा जिल्लाका नागरिकलाई मौसमको अवस्थाबारे थाहा पाइराख्न भनेको छ । 

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनेलगायत लक्षण देखिन सक्ने भएकाले त्यसबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ । यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चर्को घाम लागेको समयमा घरबाहिर ननिस्कन, बाहिर जानुपरे छाता वा टाउको ढाक्ने व्यवस्था गर्न, हल्का रङका खुकुला कपडा लगाउन, प्रशस्त पानी तथा झोल पदार्थ पिउन र ताजा तथा स्वास्थ्यकर खाना खान सुझाव दिएको छ । 

साथै खेतबारी तथा अरुबाहिरी काम बिहान वा साँझको चिसो समयमा गर्न, बालबालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न तथा स्वास्थ्य समस्या देखिए नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ । शैक्षिक संस्थाहरूलाई समेत आवश्यकताअनुसार बिहान वा साँझको समयमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन प्राधिकरणले सुझाव दिएको छ । 

पहाडी र हिमाली भेगका केही ठाउँमा भने हिजोजस्तै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

खबरपाटी
खबरपाटी