वीरगन्ज – वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्।
जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ दिन पछि पर्सा प्रहरीले मेयर सिंहलाई पक्राउ गरेको हो।
पर्साको ठोरी एरियामा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा गरिएको अप्रेशनबाट मेयर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले बताए।
उनका अनुसार पक्राउ पुर्जी जारी भएपछि मेयर एकदिन अदालत पुगेर त्यसपछि फरार भएका थिए, हाम्रो खटिएको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको हो। जेठ १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
स्थानीय लियाकत अलीको जाहेरी बमोजिम जिल्ला अदालत पर्साले मेयर सिंहसहित तीनजना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ।