२०७९ मा सिक्वेल फिल्मकै वर्चश्व

२०७९ साल नेपाली सिनेमा क्षेत्रका लागि विशेष बन्न पुगेको छ

२०७९ मा सिक्वेल फिल्मकै वर्चश्व

काठमाडौं । २०७९ साल नेपाली सिनेमा क्षेत्रका लागि विशेष बन्न पुगेको छ । त्यो के भने यसै वर्ष नेपाली फिल्मको इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्मको कीर्तिमान कायम भएको छ । २०७९ सालमा ४६ चलचित्र प्रदर्शन भए । जसमध्ये १० वटा चलचित्र मात्र हिट भएका हुन् । विगतको तुलनामा कम संख्यामा रिलिज भए पनि चलचित्रको कमाइ भने वृद्धि भएको देखिन्छ ।

गत वर्ष वैशाख १ गते ‘ए मेरो हजुर ४’ प्रदर्शन भएको थियो । २०७९ चैत २४ गते ‘बहाव’ प्रदर्शनसँगै यो वर्ष टुंगिएको छ । यस वर्ष सबैभन्दा धेरै कमाउनेमा ‘कबड्डी ४’ बनेको छ । यो चलचित्रले २१ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको छ । त्यसपछि ‘छक्कापञ्जा ४’ ले कमाईमा रेकर्ड राखेको छ ।

यो चलचित्रले हालसम्म १६ करोडभन्दा बढीको कमाइ गरेको छ । अहिले पनि यो चलचित्र हलमा लागिरहेको छ । ‘महापुरुष’, ‘प्रेमगीत ३’, ‘२ नम्बरी’, ‘फूलबारी’, ‘झिंगेदाउ’, ‘के घर के डेरा’, ‘ए मेरो हजुर ४’ पनि कमाउने चलचित्रमा पर्छन् । बितेको वर्ष सिक्वेलबाहेक ‘महापुरुष’, ‘झिंगेदाउ’, ‘२ नम्बरी’, ‘फूलबारी’ ले पनि आकर्षक कमाइ गरे ।
२०७९ मा नेपाली चलचित्र ‘प्रेमगीत ३’ हिन्दी भाषमा समेत प्रदर्शन भई निकै चर्चा पायो । यस चलचित्रले अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली पहिचान पाउन सफल भयो । संसारका ठूला मल्टिप्लेक्स र चेनमा प्रदर्शन हुने एक मात्र फिल्म ‘प्रेमगीत ३’ नै बन्यो ।

धेरै कलाकार विवाह बन्धनमा बाँधिए

बितेको वर्ष धेरै नाम चलेका कलाकार विवाह बन्धनमा बाँधिएका छन् । केकी अधिकारी, सलोन बस्नेत, निता ढुंगाना, सुरक्षा पन्तले विवाह गरे । बिहे गरेको केही महिनामै अभिनेत्री वर्षा शिवाकोटीको सम्बन्ध बिच्छेद भयो । पूर्वमिस नेपाल शृंखला खतिवडा र भ्लगर सिसन बानियाँबीचको सम्बन्ध यसै वर्ष टुंगियो । कलाकार जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठबीचको ६ वर्षदेखिको प्रेम सम्बन्धको अन्त्य भयो ।

खबरपाटी
खबरपाटी