डोजरबाट विस्थापित सुकुमवासीलाई पुरानै स्थानमा पुनर्वास गरियोस् : हर्क साम्पाङ

डोजरबाट विस्थापित सुकुमवासीलाई पुरानै स्थानमा पुनर्वास गरियोस् : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले डोजर अभियानका कारण विस्थापित भएका सुकुमवासीहरूको तत्काल पुनर्वास गर्न सरकारसँग माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले डोजर प्रयोग गरेर हटाइएका नागरिकहरू हाल विभिन्न होल्डिङ सेन्टरमा कठिन अवस्था झेल्न बाध्य भएको बताए। कीर्तिपुरलगायतका स्थानमा रहेका होल्डिङ सेन्टरहरूमा खाना र खानेपानीको अभाव रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।

साम्पाङले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन रूपमा व्यवस्थित पुनर्वासको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए। उनले सुकुमवासीहरूलाई उनीहरू बसोबास गर्दै आएको स्थानमै योजनाबद्ध ढंगले पुनर्वास गर्न सके सरकारको प्रशंसा हुने धारणा व्यक्त गरे।

“जहाँ राहत आवश्यक छ, त्यहाँ राहत र जहाँ व्यवस्थापन आवश्यक छ, त्यहाँ पुनर्वासको व्यवस्था हुनुपर्छ,” उनले भने, “उहाँहरू बसेकै स्थानमा राम्रो सिटी प्लानिङ गरेर पुनर्वास गर्न सकियो भने त्यसले सरकारको सकारात्मक छवि निर्माण गर्नेछ।”

साम्पाङले शहरी व्यवस्थापनका लागि छुट्याइएको बजेट सुकुमवासीहरूको पुनर्वास तथा आधारभूत सेवा व्यवस्थापनमा उपयोग गर्न पनि सरकारलाई सुझाव दिए। उनका अनुसार विकास र व्यवस्थापनका नाममा नागरिकलाई विस्थापित गर्नु मात्र समाधान नभई उनीहरूको सम्मानजनक बसोबासको सुनिश्चितता पनि राज्यको दायित्व हो।

खबरपाटी
खबरपाटी