काठमाडौँ - नेकपा सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई आफूमाथिबाटै छानबिन सुरु गर्न चुनौती दिएका छन्। बजेटमार्फत करका दर हेरफेर गरिएको विषयमा संसद्मा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्रीले विपक्षी सांसदहरूलाई धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप लगाउँदै पुनले यस्तो चुनौती दिएका हुन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै पुनले संसद्मा उठाइएका विषयमा जवाफ दिनुको सट्टा अर्थमन्त्रीले ‘तिम्रा फाइल पनि खुल्छन्’ भन्ने शैलीमा धम्की दिएको दाबी गरे। उनले भने, “त्यो कुरा उठाउँदा तिम्रा फाइल पनि खुल्छन् भनेर धम्की दिने! खुलोस् सम्माननीयज्यू, मेरैबाट सुरु होस्।”
पुनले कार्यपालिकाका सदस्य संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै सांसदहरूले उठाएका प्रश्नलाई धम्की र चुनौतीका रूपमा लिन नहुने बताए। संसद् र संसदीय समितिमा अर्थमन्त्रीले खुलेआम धम्की दिएको आरोप लगाउँदै उनले लोकतान्त्रिक अभ्यासमा यस्तो व्यवहार स्वीकार्य नहुने धारणा राखे।
उनले संसद्मा उठेका सबै विषय आरोप वा छानबिनयोग्य नहुन सक्ने भए पनि प्रश्न उठाउनु सांसदहरूको अधिकार भएको बताए। “संसद्मा प्रश्न उठ्छन्, सबै आरोप वा छानबिनयोग्य हुँदैनन्। तर प्रश्न उठाउँदैमा ‘मैले गरेकै हो, के गर्न सक्छौ?’ भन्ने शैलीमा चुनौती दिनु उचित होइन,” पुनले भने।
पूर्वअर्थमन्त्री पुनले अनियमितता वा आपराधिक प्रकृतिका विषयमा पुराना र नयाँ भनेर छुट्याउन नहुने समेत बताए। उनले तथ्य र प्रमाणका आधारमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै आवश्यक परे आफूबाटै प्रक्रिया सुरु गर्न तयार रहेको बताए।