उज्यालो नेपाललाई सशक्त राजनीतिक शक्ति बनाउँछौँ : कुलमान घिसिङ

उज्यालो नेपाललाई सशक्त राजनीतिक शक्ति बनाउँछौँ : कुलमान घिसिङ

काठमाडौँ - उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीलाई देशको सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष गरेका छन्।

सरकारका काम–कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले जनअपेक्षानुसार काम हुन नसके पार्टीले सशक्त प्रतिवाद गर्ने चेतावनी दिए। पार्टीको आगामी कार्यदिशाबारे प्रष्ट पार्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी सधैँ जनताको माझमा रहेर उनीहरूका समस्या र मुद्दालाई प्राथमिकताका साथ उठाउने बताए।

पार्टीले संगठन विस्तारको विशेष योजना अघि सारेको छ। घिसिङका अनुसार पार्टीले प्रत्येक वडा र गाउँपालिका तहसम्म आफ्नो उपस्थिति मजबुत बनाउन ‘उज्यालो अभियान’ सञ्चालन गर्ने तयारी गरेको छ। संगठनलाई जरादेखि नै बलियो बनाउँदै आगामी निर्वाचनमार्फत आफ्नो सरकार स्थापित गर्ने लक्ष्य पार्टीले लिएको छ।

युवा वर्गलाई लक्षित गर्दै पार्टीले रोजगारी सिर्जना र लगानीका क्षेत्रमा नयाँ योजनाहरू ल्याउने प्रतिवद्धता जनाएको छ। युवालाई देशको अर्थतन्त्र र लगानी प्रवर्धनमा कसरी आबद्ध गराउन सकिन्छ भन्ने विषयमा ठोस कार्ययोजना निर्माण भइरहेको उनले जानकारी दिए।

घिसिङले भने, ‘नयाँको विकल्प पुरानो हुन सक्दैन। नयाँको विकल्प नयाँ नै हुन्छ। त्यो भनेको उज्यालो नेपाल पार्टी हो।’

घिसिङले सरकार बाहिर रहेर पनि आफ्नो पार्टीले रचनात्मक भूमिका निर्वाह गर्ने बताए। जनतामा व्याप्त निराशालाई चिर्दै देशको समृद्धिका लागि पार्टीले आफ्ना कार्ययोजनासहित सक्रियता बढाउने उनको भनाइ छ। 

खबरपाटी
खबरपाटी