चार कारोबार दिनपछि नेप्सेमा झिनो अंकको सुधार, ५ अर्ब २७ करोडको सेयर किनबेच

चार कारोबार दिनपछि नेप्सेमा झिनो अंकको सुधार, ५ अर्ब २७ करोडको सेयर किनबेच

काठमाडौँ - साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार (नेप्से) परिसूचक अन्तिम समयमा सम्हालिएर हरियो अंकमा बन्द भएको छ । साताको सुरुदेखि नै ओरालो लागेको बजार शुक्रबार कारोबार अवधिभर नकारात्मक रहे पनि अन्तिम समयमा १.५४ अंकले बढ्दै २७८८.७० विन्दुमा पुगेको हो ।

यस दिन फ्लोट इण्डेक्स ०.०६ अंकले बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.२० र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंकले घटेका छन् ।

बजार परिसूचकसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ। बिहीबार ५ अर्ब ९ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएकोमा शुक्रबार ३५१ कम्पनीका १ करोड २१ लाख ७४ हजार कित्ता सेयर ५ अर्ब २७ करोड ३ लाख ९९ हजार रुपैयाँमा खरिदबिक्री भए। दिनभरिमा कुल ७५ हजार २२९ पटक कारोबार भएको छ।

शुक्रबार तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज, शिखर पावर डेभलपमेन्ट र माइ खोला हाइड्रोपावरका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन्। यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य साढे १२ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। घट्ने कम्पनीहरूको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कमै रह्यो।

कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। यस कम्पनीको २७ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको करिब २५ करोड र नेशनल हाइड्रोपावरको २४ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो।

कारोबारमा आएका १३ उपसमूहमध्ये ६ वटाको सूचक बढ्दा ७ वटाको घटेको छ। बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूह सामान्य उकालो लागेका छन्। अन्य उपसमूहको सूचक भने सर्वाधिक १.०२ प्रतिशतले घटेको छ ।

खबरपाटी
खबरपाटी