काठमाडौं - नेपाल पुलिस क्लब र एपिएफ क्लबले १०औँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत महिलातर्फ विजयी सुरुवात गरेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बिहीबार सुरु भएको प्रतियोगितामा पुलिसले बुटवलको एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो। पुलिसले २६– २४, २५–१६, २५–१७ को जित निकालेको हो।
अर्को खेलमा एपिएफले अर्को टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । एपिएफले आर्मीलाई २५–२३, १७–२५, २५–१९, २५–१९ ले हराएको हो।
यसै गरी पहिलो दिन पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र गत विजेता हेल्प नेपाल स्पोटर््स क्लबले विजयी सुरुवात गरेका छन्।
आर्मीले लुम्बिनीको खिल्जी क्लबविरुद्ध पुनरागमन गर्दै ३–१ सेटको जित हात पारेको हो। पहिलो सेट खिल्जीले २५–१८ ले आफ्नो पक्षमा पार्दै अग्रता लिएको थियो।
त्यसपछि खिल्जीले लय कायम राख्न सकेन भने आर्मीले पुनरागमन गर्दै लगातार तीन सेट जित्यो । आर्मीले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–२१, चौथो सेट २५–२० ले आफ्नो पक्षमा पारेको हो । पुरुषतर्फकै साबिक विजेता हेल्प नेपालले बुढानीलकण्ठ भलिबल क्लबलाई सोझो सेटमा २५–१३, २५–१७, २५–१८ ले पराजित गरेको छ।
वैशाख १९ गतेसम्म सञ्चालन हुने लिगमा पुरुषतर्फ आठ र महिलातर्फ छ गरी कुल १४ टोलीको सहभागिता रहेको छ ।
पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी, नेपाल प्रहरी, एपिएफ, खिल्जी युवा क्लब (लुम्बिनी), पश्चिम रुकुम, कोशी प्रदेश र बुढानीलकण्ठ क्लब सहभागी छन्। महिलातर्फ न्यु डायमन्ड, नेपाल प्रहरी, एपिएफ, सुदूरपश्चिम, एभरेस्ट क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्ने छन्।
एक करोड १५ लाख रुपियाँ लागत रहेको लिगको विजेताले १० लाख, उपविजेताले पाँच लाख र तेस्रो हुने टोलीले दुई लाख ५० हजार रुपियाँ पाउने छन्। यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ६० हजार तथा उत्कृष्ट सर्भर, ब्लकर, लिवेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपियाँ प्रदान गरिने छ।