काठमाडौँ- विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्यांक सार्वजनिक गरिएको छ। विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालका अनुसार नेपालमा हिउँचितुवाको संख्या तीन सय ९७ भएको पाइएको छ।
विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएका आईयूसीएनको भनाइ छ। नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार पाँच सय वर्गकिमी क्षेत्रफलमा यसको बासस्थान रहेको छ।
अमेरिकामा रहेको ‘स्नो लियोपार्ड ट्रष्ट’ का अनुसार हाल विश्वको २० लाख किलोमिटर क्षेत्रमा तीन हजार २० देखि पाँच हजार तीन सय ९० को संख्यामा हिउँचितुवा रहेको अनुमान छ।
हिउँचितुवा बढी जसो नेपाल, चीन, अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, कीर्गीस्तान, भारत, मंगोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानलगायतका १२ वटा मुलुकमा पाइन्छन्।
पछिल्लो समयमा नेपालसँगै भारत, मङ्गोलिया र भुटानले प्रविधि, अनुसन्धान र तथ्यांक विश्लेषण गरी हिउँचितुवाको नयाँ र आधिकारिक तथ्यांक सार्वजनिक गर्दै आएका छन्।
तथ्यांकअनुसार चीनमा कम्तीमा दुई हजारदेखि दुई हजार पाँच सय, मंगोलियामा नौ सय ५३, भारतमा सात सय १८, नेपालमा तीन सय ९७ र भुटानमा एक सय ३४ हिउँचितुवा रहेको विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालका पर्वतीय कार्यक्रम प्रबन्धक सरिन श्रेष्ठले जानकारी दिए।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू–संरक्षण विभागको नेतृत्वमा कोषलगायत संघसंस्थाको सहयोगमा विभिन्न तथ्यांक र अनुसन्धानको विश्लेषण र मूल्यांकन गरी सो तथ्यांक निकालिएको उनले बताए।
यस मूल्यांकनमा २०१५ देखि २०२४ सम्म सरकार, संरक्षण संस्थाहरू र अनुसन्धानकर्ताद्वारा नेतृत्व गरिएका विभिन्न अध्ययनबाट तथ्यांक निकालिएको हिउँचितुवा विज्ञ शशांक पौडेलले जानकारी दिए। यो तथ्यांक क्यामेरा ट्रयाप र दिशाको नमूनाहरूको आनुवंशिक विश्लेषणलगायत अत्याधुनिक प्रविधि प्रयोग गरी विभिन्न सात अध्ययन क्षेत्रहरूबाट हिउँचितुवाको वितरण र जनसंख्या घनत्वको तथ्यांक प्रयोग गरिएको उनले बताए । यस मूल्यांकन उपलब्धिले हिउँचितुवा र तिनीहरूको संवेदनशील पर्वतीय पारिस्थितिक प्रणालीको सुरक्षा गर्न मुलुकको प्रतिबद्धतालाई जोड दिन्छ।
यो मूल्यांकन निकुञ्ज विभागका वरिष्ठ पारिस्थितिकीय विद्को नेतृत्वमा रहेको प्राविधिक टोलीद्वारा ग्लोबल स्नो लियोपार्ड एन्ड इकोसिस्टम प्रोटेक्सन प्रोग्रामको ‘पपुलेसन एसेसमेन्ट अफ द वर्ल्डस् स्नो लियोपाड्र्स’ निर्देशिकाअनुसार सञ्चालन गरिएको थियो । जसमा कोषलगायत व्यक्तिगत अनुसन्धानकर्ताहरू र संरक्षण संस्थाहरू सहभागी थिए।